धनमुडा चौर समाज रुपन्देहीद्वारा कुषे औंसीमा विशेष सम्मान तथा बाबाहरुप्रति श्रद्धा अर्पण

रुपन्देही – पितृभक्तिको पर्व कुषे औंसी (पिता सम्झने दिन) को अवसरमा धनमुडा चौर समाज, बुटवल रुपन्देहीले मानव सेवा आश्रममा बसोबास गरिरहेका बृद्धबाबाहरूलाई सम्मान अर्पण गर्ने सोही अवसर पारेर तीजको दर खुवाउने विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलस्थित पाम इन्टरनेशनल होटलमा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी र स्थानीय समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य बृद्ध बाबाहरूलाई पनि सम्मान र मायाको चिनो अर्पण गर्दै पिताले दिएको माया, अनुशासन र जीवन शिक्षाप्रति कृतज्ञता प्रकट गरियो ।

प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले समाजले गरेको यो मानवीय प्रयासको प्रशंसा गर्दै पिताले दिएको मार्गदर्शन र संस्कारलाई जीवनभर अंगिकार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यस्तो प्रकारका सम्मान कार्यक्रमहरूले नयाँ पुस्तालाई आमा बुबाप्रतिको स्नेह र कदर गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो भने आफु पनि यो कार्यबाट प्रभावित भएको बताउनु भएको थियो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा उपस्थित बागलुङ बरेङ वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालले समाजको कामले आफुलाई भावुक बनाएको र यसरी आफ्ना मात्र नभइ आश्रमका बाबाहरुलाई समेत सम्मान गरेकोमा मानब सेवा आश्रमलाई १५ हजार र समाजलाई १० हजार नगद सहयोग समेत गर्नु भएको थियो । ज्ञानोदय आधारभूत विद्यालयका प्र.अ मदनबहादुर कार्कीले शुभनामना मन्तव्य राख्नु भएको थियो ।
समाजका पदाधिकारीहरूले मानव सेवा आश्रमका बाबाहरूलाई सम्मान गर्नु भनेको केवल व्यक्तिगत सन्देश मात्र नभई सम्पूर्ण समाजमा बाबाप्रतिको कृतज्ञताको संस्कृति फैलाउने कार्य भएको अतिथिहरुको भनाइ थियो । सहभागीहरूले पनि भावुक वातावरणमा पिताप्रतिको गहिरो माया र सम्मान प्रकट गरका थिए । समाजले गत वर्ष यसै गरी आमाहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका सम्मानित बाबाहरू, समाजका पदाधिकारी, स्थानीय प्रतिष्ठित व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा सम्मानित बाबाहरूको अनुहारमा देखिएको खुशी र अभिभावकत्वको गर्वले कार्यक्रममा सहभागी सबैलाई भावुक बनाएको थियो ।
समाज स्थापना भएको दिनबाटै समाजको सेवामा खटिएको बताउदै समाजका अध्यक्ष देव थापाले आगामी दिनहरुमा पनि समाज सेवामा निरन्तर रहने बताउँनु भएको थियो ।
सोही कार्यक्रममा हिन्दु नारीहरुको महान पर्व हरितालीका तीजको अवसरका दर खाने कार्यक्रम पनि थियो भने अनौपचारीक रुपमा मौलिक तिजगीतहरु गायर नाचेर बातावरणलाई उत्साहपूर्ण बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation