रुपन्देही – बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम रुपन्देही बुटवलको मेरिगोल्ड होटलमा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । कार्यक्रममा रुपन्देहीका साथै बागलुङबाट समेत उल्लेख्य संख्यामा महिला र पुरुषहरूको सहभागिता रहेको थियो ।
तीजको अवसरलाई जोड दिने गरी आयोजित उक्त कार्यक्रममा सहभागीहरूले परम्परागत पहिरनमा सजिएर तीजका गीतहरू गाए, नाचगान गरे र आपसी भेटघाट गर्दै पर्वको खुसी बाँडेका थिए । कार्यक्रम हाँसो, रमाइलो र सांस्कृतिक झल्कोले भरिपूर्ण रहेको थियो ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बरेङ्ग गाउँ पालिका वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको उपस्थिति थियो । चन्द्रकोट गाउँपालिकाका भुपु सैनिकका अध्यक्ष राम बहादुर खत्री चन्द्रकोट समाजका अध्यक्ष क्याप्टेन दल बहादुर थापाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कलाकारहरु सीता कार्की, चाँदनी कार्की, मीठु बस्नेत तथा शान्ता बस्नेतले बाटाकाचौरको बारेमा तयार पारेको गीतले सबैको मन जितेको थियो । समाजका अध्यक्ष बिबि पौडेलको विशेष पहलमा आयोजित कार्यक्रममा बाटाकाचौरले जन्माएका जेहेन्दार ४ जना ए प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
समाजका पदाधिकारीहरूले तीज पर्वले महिलाबीचको सम्बन्ध मात्र नभई समुदायबीचको एकता र सद्भाव अझ प्रगाढ बनाउने बताएका थिए । उपस्थित अतिथिहरूले पनि यस्ता कार्यक्रममा बागलुङ र रुपन्देहीका वासिन्दाबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुग्ने बताएका थिए भने कार्यक्रम सफलरुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू र विभिन्न क्षेत्रका सहभागीहरूले उपस्थिति जनाएका थिए । तीज मिलन समारोहले नारीहरूको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई परम्परागत मूल्य र मान्यताप्रति अभिमुख गराउने सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमलाई संयोजनको भुमिका महेन्द्र थापाले गर्नु भएको थियो भने देबेन्द्र थापा र होम बहादुर कार्कीले संचालन गर्नु भएको थियो ।