शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजारको लोकल भालेको रकम…….

मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ।

 

मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित स्थलगत छानविन समितिले अनुगमनको क्रममा खाजाको नाममा लोकल भालेलाई ५ हजार दिएको बिल फेला पारेको छ ।

 

 

मन्थली माध्यमिक विद्यालयको लेखा शाखाका कागजात चेकजाँच गर्ने क्रममा ५ हजार रुपैयाँमा लोकल भाले खाएको बिल राखेर सोही बिल बमोजीम भुक्तानि दिएको फेला पारेपछि उक्त बिल अनुसारको रकम असुल उपर गर्न छानविन समितिले विद्यालयलाई निर्देशन दिएको हो ।

 

मन्थली माविका शिक्षकहरुले २०७७ साल चैत्र ३१ गते मन्थलीमा रहेको जे एस भोजनालय एण्ड लजमा खाजा खाएको र उक्त होटलले शिक्षकहरुले खाएको खाजा सहितको रकम पाउँ भनी होटल संञ्चालकले बिल नं ७७० मा लोकल भाले ५ हजार उल्लेख गरि बिल पेश गरेका थिए ।

 

सोही बिल बमोजीम मन्थली माविले होटल संचालकलाई रकम भुक्तानी गरेको थियो ।मन्थली माविमा भएको अनियमितताको बिषयमा छानविन गर्न मन्थली मावि पुगेको स्थलगत छानविन समितिले विद्यालयको खातापाता हेर्ने क्रममा ५ हजारको लोकल भालेको बिल फेला परेपछि उक्त बिल हेरेर समितिका सदस्यहरु गलललल् हाँसेका थिए ।

 

कागजात हेर्ने क्रममा ५ हजारको लोकल भाले भन्ने बिल फेला परेपछि उक्त बिल हेरेर हामीलाई उठेको हाँसो रोक्न सकेनौंँ एक सदस्यले बताए ।स्थलगत छानविन समितिले मन्थली नगरपालिकामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि अहिले रामेछापमा ५ हजारको लोकल भालेको चर्चा बजारमा चलेको छ ।

 

अहिलेसम्म ५ हजारको लोकल भाले नदेखेका र नखाएका नागरिकहरु मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भाले कहाँ पाइन्छ भन्दै खोजीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation