नेपाली सेनाले हिउँमा फसेका आठ जनाको उद्दार गरेको छ । सेनाले जुम्लाको तातोपानी गाउँपालिका–४, बजेडी पाटनमा फसेका स्थानीयको हेलिकोप्टरबाट उद्दार गरेको हो ।
तातोपानीको गिडिदहको शिरान बजेडी पाटनमा हिउँमा फसेका स्थानीयलाई हेलिकोप्टरबाट तीन चरणमा गरी ग द्दार गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । उनले आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा नेपाली सेनाले हेलिकोप्टरबाट हिउँमा फसेकालाई सकुशल उद्दार गरेको बताए ।
उनका अनुसार तातोपानी–७, का दिया रावत, हरिशोभा रावत, सुशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावतको उद्दार गरिएको हो । उद्दार गरिएकाहरुको स्वास्थ्य चेकजाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको उनको भनाइ छ ।