गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो व्यक्तिगत जीवनमाथि गरिएको सार्वजनिक आक्रमण, सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र मानसिक हिंसाविरुद्ध सार्वजनिक रूपमा आवाज उठाएकी छन्। उनले एक वक्तव्यमार्फत स्पष्ट पारिन् कि सम्बन्ध आपसी समझदारीमा त्यही दिन समाप्त भएको थियो, तर समाजको सतही सोच र डिजिटल माध्यमको दुरुपयोगले त्यो कुरा पुनः बल्झाएर गम्भीर अन्याय गर्यो।
“म कानुनी प्रक्रियामा जान बाध्य भएँ,” उनले भनिन्, “मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।”
उनका अनुसार यो लडाइँ कुनै व्यक्तिगत व्यक्तिसँग होइन, त्यो मानसिकतासँग हो जसले सत्य बोल्ने नारीलाई नै दोषी ठहर्याउँछ।
उनले समाजको ध्यान त्यतातिर पनि तानिन् जहाँ पीडितले आफ्नो आवाज उठाउँदा उल्टै उनलाई नै कठघरामा उभ्याइन्छ।
“जब मैले आफ्ना भोगाइहरू सुनाएँ, ममाथि फेरि प्रश्न उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’,” भन्दै उनले सामाजिक सोचप्रति गहिरो असन्तुष्टि व्यक्त गरिन्।
उनको भनाइमा, नेपाल अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ र सत्य बोल्नेलाई अपराधी ठानिन्छ।
तर उनले यसपटक चुप लाग्ने छैनन् भन्ने स्पष्ट सन्देश दिइन्—“अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो।”
उनले कानुनी, सामाजिक र नैतिक सबै माध्यमबाट न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएकी छन्।
“किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ,” भनी उनले आफ्नो सशक्त प्रतिबद्धता दोहोर्याइन्।
उनका फेसबुक स्टाटस
हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।