बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तीनउ गाउँपालिका–३ शिद्धबाबा मन्दिरनजिकै कुहेरे भन्ने ठाउँमा ठूलो पहिरोे खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
पछिल्लो केही दिन यता देशैभरी निरन्तररुपमा परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरोको कारण सडकहरु अवरुद्ध भएका छन् । निरन्तर वर्ष भइरहेको कारण अवरुद्ध सडकहरु खुलाउनलाई पनि असहज स्थिती छ भने जोखिम पनि बढेको छ ।
यसै बीचमा बुटबल पाल्पा सडक खण्ड सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने सिद्धबाबा मन्दिर नजिकै हिजो राती करिब ७ बजेतिर खसेको ठूलो पहिरोले राजमार्ग ठप्प भएको छ ।
इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।
निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको बताइएको छ ।
डोजरले पहिरो हटाउन जोखिमपूर्ण रहेको र ठूला चट्टानहरू खसिरहेकाले जान नमानेकाले कतिबेला सडक खुल्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
यही क्षेत्रमा सोमबार बिहान १ बजेदेखि अपराह्न ४ बजेसम्म अर्को पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो ।
अहिले केही यात्रु र गाडीहरु सिद्धबाबा मन्दिर परिसरमा अलपत्र परेका छन भने धेरै सवारी साधनलाई प्रहरीले गोलपार्क क्षेत्रमा रोकेको छ जस कारण लामो जामको लाइन लागेको छ ।
यस क्षेत्रमा वर्षाको समयमा पहिरोको कारण ठूलो जनधनको क्षती हुँदै आएपछि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ । सुरुङको ब्रेक थ्रु भइसकेको छ भने लाइनिङको काम भइरहेको छ ।